पहिलो वरियताका किरणराज शर्मासहित यी हुन् यो वर्ष अवकाश पाउने २० जना सचिव [सूची]
काठमाडौँ । चालू आर्थिक वर्ष २०८३-०८४ मा २० जना विशिष्ट श्रेणीका सचिवसहित करिब दुई हजार कर्मचारी निजामती सेवाबाट अनिवार्य अवकाशमा जाँदै छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार, ५८ वर्षे उमेर हद र पाँच वर्षे पदावधिको प्रावधानका कारण यसै वर्ष श्रेणीविहीनदेखि सचिवसम्म गरी कुल १ हजार ९ सय ८५ जना कर्मचारीले सरकारी सेवाबाट बिदा लिँदै छन् । किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार, यस वर्ष अवकाश पाउने २० सचिवमध्ये कसैको ५ वर्षे पदावधि पुगेको छ भने कसैको ५८ वर्षे उमेर हद नाघेको छ । यसरी अवकाश पाउनेमा सबैभन्दा बढी प्रशासन सेवातर्फका १३ जना रहेका छन् । यस्तै इन्जिनियरिङ सेवाका ३ जना, न्याय सेवाका ३ जना (न्याय, कानुन र सरकारी वकिलसहित) र लेखा परीक्षण सेवाका एक जना सचिव रहेका छन् । यो वर्षको सुरुवात (साउन) मै मुख्यसचिवको दौडमा रहेका र प्रशासनिक क्षेत्रमा दख्खल राख्ने तीन जना सचिवले अवकाश पाउँदै छन् । जसमध्ये पहिलो वरीयतामा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा साउन ४ गतेदेखि बिदा हुँदै छन् । वरीयताको रोल क्रममा पहिलो नम्बरमा भए पनि सरकारले आफूभन्दा कनिष्ठ (३४औँ वरीयताका) गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेपछि शर्मा असन्तुष्टि व्यक्त गर्दै बिदामा बसेका छन् । शर्मासँगै साउन ७ गते सचिव लोकनाथ पौड्याल र साउन १९ गते हरिप्रसाद मैनालीले पनि अनिवार्य अवकाश पाउनेछन् । पौड्याल उमेर हदका कारण र मैनाली पाँच वर्षे कार्यकाल पूरा गरेर घर फर्कन लागेका हुन् । यो वर्षभरि नै सिंहदरबारका अनुभवी सचिवका अनुहार फेरिने क्रम जारी रहनेछ । किताबखानाको विवरण अनुसार साउनमा ३ जना (किरणराज शर्मा, लोकनाथ पौड्याल, हरिप्रसाद मैनाली), भदौमा ३ जना (डिल्लीराम शर्मा, बाबुराम अधिकारी, राजकुमार श्रेष्ठ), असोजमा ५ जना (गोपालप्रसाद सिग्देल, सरजुकुमार वैद्य, सञ्जीवराज रेग्मी, वैकुण्ठबहादुर अधिकारी र रविलाल पन्थ), मङ्सिर देखि चैतसम्म प्रत्येक महिना एक एक जना, वैशाख र जेठमा पनि एक एक जना असारमा जना (केदारनाथ शर्मा, राजेन्द्रकुमार पौडेल र इन्दिरा दाहाल) अवकाशमा जानेछन् । यद्यपि अनुभवी सचिवको बहिर्गमनले प्रशासनिक नेतृत्वमा नयाँ सचिवको अनुहारको आगमन हुनेछ । तर सरकारले मन्त्रालयको सङ्ख्यासँगै सचिवको सङ्ख्या पनि घटाएकाले २० जना सचिव अवकाशमा जाँदा २० जना नै सहसचिव सचिवमा बढुवा हुने सम्भावना कम छ । २० जनामा केही सचिव पदमा मात्रै सहसचिव बढुवा हुने अनुमान गरिएको छ ।
