SHARE
Samata Press · शुक्रबार​ १ साउन २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतसहित यस वर्ष ८७ सहसचिव अवकाशमा जाँदै, को कहिले ?

काठमाडौँ । चालू आर्थिक वर्ष २०८३-०८४ मा ८७ जना सहसचिव ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार यसै वर्ष २० जना सचिवसहित श्रेणीविहीन तहसम्मका कुल १ हजार ९ सय ८५ जना कर्मचारीले सरकारी सेवाबाट अवकाश पाउँदा ८७ जना सहसचिवले पनि अवकाश पाउन लागेका हुन् ।  किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अवकाश पाउने ८७ सहसचिव सबै ५८ वर्षे उमेर हदका कारण जान लागेका हुन् । सहसचिव पदका लागि सचिवको जस्तो ५ वर्षे पदावधिको नियम नभएकाले उनीहरू उमेरकै कारण बाहिरिन लागेका हुन् । अवकाश पाउनेमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार गुरागाईँ (साउन २१), विभिन्न विभागका महानिर्देशक, मन्त्रालयका महाशाखा प्रमुख, प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रदेश सरकारका सचिवका रूपमा कार्यरत सहसचिव छन् । ८७ सहसचिवमध्ये सबैभन्दा बढी प्रशासन सेवाका २१ जना र इन्जिनियरिङ सेवाका १४ जना रहेका छन् । यसबाहेक वन, स्वास्थ्य, न्याय, लेखा परीक्षण, कृषि, शिक्षा, परराष्ट्र र संसद् सेवाका सहसचिव पनि यो सूचीमा छन् । महिनावारी रूपमा हेर्दा साउनमा ८ जना (सुरुवात साउन ६ गते हेमराज सुवेदी र प्रकाश खतिवडाबाट) असोजमा ११ जना, आगामी वैशाखमा एकै पटक १७ जना (यो वर्षकै सबैभन्दा धेरै), जेठ र असारमा क्रमशः ६ र ७ जना अवकाशमा जान लागेका हुन् । विशेष गरी वैशाख महिनामा १७ जना सहसचिव एकै पटक बाहिरिँदा कतिपय महत्त्वपूर्ण महाशाखा र आयोजनाको नेतृत्व रिक्त हुनेछ । यसले गर्दा लोक सेवा आयोगले पदपूर्तिको प्रक्रियालाई तीव्रता दिनुपर्ने र सरकारले कार्यवाहक नेतृत्वको व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ ।