आत्मदाहको विवशता र बन्दुकविहीन प्रशासनिक हत्या
गाउँको कुनामा अवस्थित वडा कार्यालय अगाडि आज बिहानैदेखि मानिसहरूको ठूलो भिड थियो। कृषि मल आएको हल्लाले सिंगो गाउँ नै उर्लिएको थियो। मानो रोपेर मुरी उब्जाउने यो समयमा मल पाउनु भनेको किसानका लागि ठूलो युद्ध जित्नु जस्तै थियो। त्यही भिडको एक कुनामा शान्ति पनि उभिएकी थिइन्। उनको हातमा एउटा रित्तो झोला र केही झुत्रा नोटहरू थिए।शान्तिको जीवन कहिल्यै सजिलो रहेन। विवाह गरेर पराइघर गएकी उनी, सम्बन्धमा आएको चरम सास्ती र पारिवारिक उतारचढाव सहन नसकेर अन्ततः माइती फर्किएकी थिइन्।
