पुस्तक समीक्षा ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो
काठमाडौँ । “शिक्षक पाठ्यक्रम पूरा गर्नुपर्ने दबाबमा हुन्छ । शिक्षकलाई थाहा छ, सिकाइ पूरा भएको छैन, विद्यार्थीले सिक्नुपर्ने जति सिकेको छैन तर अर्को पाठ सुरू गर्नुपर्ने बाध्यता भइदिन्छ ।” साढे तीन दशक सामुदायिक विद्यालयको शिक्षणमा संलग्न एक शिक्षकको यो स्वीकारोक्तिले हाम्रो नेपाली शिक्षण पद्धति र प्रक्रियालाई प्रतिविम्बित गर्छ । लेखक शिक्षक मात्रै रहेको भए सायद यस तहको स्वीकारोक्ति हुने थिएन होला । शिक्षकका साथै लेखक र पत्रकारसमेत भएकाले आफ्ना काम र अनुभवको समीक्षालाई रचनात्मक अभिलेखीकरणसहित साहित्यिक कृतिका रूपमा पाठकमाझ लेखक गोविन्द लुइँटेलले अनुभवका राम्रा नराम्रा पक्षहरूलाई खुलेर पस्केका छन् । हालै प्रकाशित पुस्तक ‘कक्षाकोठामा ३५ वर्ष’ का लेखक लुइँटेलले आफ्ना २१ अनुभव निबन्धलाई शिक्षा सुधारको मार्गमा हिँडाएका छन् ।
