मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास
रौतहट । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा मध्याह्न १२ बजे बस्ने यो बैठकलाई दुवै पक्षले ’निर्णायक’ रूपमा लिएका छन् । यसअघि मंगलबार र बुधबार दैनिक करिब पाँच–पाँच घण्टा चलेका पहिलो र दोस्रो चरणका वार्ताहरू विना निष्कर्ष टुङ्गिएपछि आजको छलफलमा सबैको ध्यान केन्द्रित भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले गत असार २५ गते धनुषाको जनकपुरस्थित ऐतिहासिक तिरहुतिया गाछीबाट काठमाडौंतर्फ ‘पैदल मार्च’ ९न्याय यात्रा० सुरु गरेका थिए।
