सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि श्रम उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउँदै सीप विकासका कार्यक्रमहरू निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा बिहीबार आयोजित उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा बोल्दै अध्यक्ष पाण्डेले नेपालको श्रम उत्पादकत्व छिमेकी तथा समान प्रकृतिका मुलुकहरूको तुलनामा निकै कमजोर रहेको बताए। हाल उपलब्ध तथ्याङ्कअनुसार नेपाल तलबाट तेस्रो स्थानमा रहेको उल्लेख गर्दै उनले हाल भइरहेका सीप विकासका प्रयासहरू छरिएका र नतिजामुखी हुन नसकेको टिप्पणी गरे।
