SHARE
Samata Press · शुक्रबार​ ५ असार २०८३ ०८:५७ PM · 1 मिनेट पढाइ

हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण

मकवानपुर ।हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहापालिकाको विभिन्न वडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर प्रशोधित पिउने पानी वितरण गर्ने गरिएको छ ।  हेटौँडा उपमहापालिकामा वडा नम्बर १२ र १३ बाहेक वडा नम्बर १ देखि १९ का करिब एक लाख ७२ हजार बासिन्दालाई स्वच्छ पिउने पानी दैनिक सरदर १० घण्टा वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताए । उनले हेटौँडा नगरको विभिन्न वडाका  प्रत्येक टोलमा आजसम्म २९ हजार ८०३ धारा जडान गरिएको जानकारी दिए ।  हेटौँडा उपमहापालिका–२ स्थित बुङदल खोलाको पानी, ४० डिपट्युवेल र १९ समवेलबाट दैनिक तीन करोड, ७५ लाख लिटर पिउने पानी सङ्कलन गरिँदै आएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानेले बताए ।    यसैगरी सो बोर्डले हेटौँडा–१४ मा डिपट्युवेल दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण र मेनलाइन शाखा पाइप विस्तार कार्य सम्पन्न गरिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा हेटौँडा–१६ शक्तिमा ६ वटा ९ सय घनमिटर क्षमताको समवेलको निर्माण र करिब साढे ३ किलोमिटर पाइप लाइन विस्तार गर्ने कार्य सम्पन्न गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।  यसैगरी हेटौँडा–१५ को सानो सुकौलीमा बोर्डले एक लाख लिटर क्षमताको पानी ट्याङ्की र वडा नम्बर १६ मा शौचालय निर्माण गरेको छ । हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाइ डिभिजन १ को संयुक्त लगानीमा हेटौँडा–११ थाना भर्‍याङको सिमलटार क्षेत्रमा हाल दुई समवेल र चार लाख ५० हजार क्षमताको ओभर हेड पानी ट्याङकी तथा घर निर्माण गरेको प्रमुख सापकोटाले बताए ।  हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो परिसरभित्र अत्याधुनिक पानी परीक्षण प्रयोगशाला हालै सञ्चालनमा ल्याएको छ ।  बोर्डले पानी सङ्कलन गर्ने कार्यमा प्रयोग गर्ने उद्देश्यले विभिन्न साइजका मोटर पम्पसेटहरु खरिद गरिएको जनाएको छ । साथै हेटौँडा–१२ र १३ का स्थानीय उपभोक्ताहरुले आफ्नो लगानीमा छुट्टाछुट्टै खानेपानीको ट्याङ्की निर्माण गरेर पाइप विस्तार गरी ती प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको हेटौँडा उपमहानगरपालिकाको प्रवक्ता सविन न्यौपानेले बताए ।