नियमित कफी सेवनले के फाइदा हुन्छ ?
एजेन्सी । अमेरिकन हार्ट एसोसिएसनले सार्वजनिक गरेको नयाँ वैज्ञानिक अध्ययन अनुसार अधिकांश स्वस्थ वयस्कहरूले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्छन् । जुन करिब ८ औंसका पाँच कप क्याफिनयुक्त कफी बराबर हुन्छ । यति मात्रामा क्याफिन सेवन गर्दा मुटुसम्बन्धी रोगको जोखिम बढ्दैन । मध्यम मात्रामा कफी सेवन गर्दा केही प्रकारका मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुनसक्छ । यद्यपि, अनुसन्धानकर्ताहरूले क्याफिनप्रति प्रत्येक व्यक्तिको शरीरको प्रतिक्रिया फरक–फरक हुन सक्ने बताएका छन् । एक समीक्षायुक्त जर्नलमा प्रकाशित वैज्ञानिक वक्तव्यले क्याफिन र मुटुसम्बन्धी रोगबारे हालसम्म भएका अनुसन्धानहरूको समीक्षा गरेको हो । अध्ययन वक्तव्य अनुसार, विशेषगरी चिनी, क्रीम वा अन्य अतिरिक्त पदार्थ नहालिएको कालो कफी (ब्ल्याक कफी)मार्फत दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्नु अधिकांश वयस्कका लागि सुरक्षित मानिन्छ । यस्तो सेवनले केही व्यक्तिमा मुटुरोग, हृदय विफलता र स्ट्रोकको जोखिम कम गर्न पनि सहयोग गर्न सक्छ ।
