खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ
भद्रपुर (झापा) । सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शनिबार राति झापा गाउँपालिका–५ का २६ वर्षीय सुरेश हेमरममाथि आक्रमण गर्ने उद्देश्यले झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु आफ्ना तीन जना साथीसहित हेमरमको घर पुगेका थिए । मुर्मुसँगै १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकार खुकुरी र छुरी बोकेर हेमरमको घरमा पुगेर घर घेरा हाल्दै ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षक चुक्तबहादुर विष्टको नेतृत्वमा तथा प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर खुकुरी र छुरीसहित चारै जनालाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा सुरेश हेमरम र आकाश मुर्मुबीच फोनमा भएको सामान्य विवादकै कारण मुर्मुले साथीहरुलाई साथमा लिएर हेमरमको घरमा पुगेर आक्रमणको प्रयास गरेको खुलेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ ।
