एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
काठमाडौँ । विशेष अदालतले सशस्त्र प्रहरी स्कूल कीर्तिपुरका लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेञ्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा तामाङलाई १० दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज सो आदेश दिएको हो । सोही आदेश बमोजिम निजहरुलाई न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतले जनाएको छ । एपिएफ स्कूलको आर्थिक अपचलनसम्बन्धी विषयको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी निरीक्षक गुरुङ र व्यवसायी लामालाई गत असार २० गते प्रहरीले पक्राउ गरेको थियो । जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको पत्रअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ ले निषेध गरेको भ्रष्टाचारको कसूर अपराधको अनुसन्धान गर्न यही साउन ८ गते निज आरोपीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो ।
