बालेनका सल्लाहकार बेनलाई रक्षाको सुझाव : राज्य सञ्चालन र फिल्मको स्क्रिप्ट फरक हुन्छ
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनले सञ्चालन गर्ने फेसबुक पेजमा सार्वजनिक गरिएको पोस्टप्रति आपत्ति जनाउँदै नागरिकप्रति शक्ति प्रदर्शन नगरी जिम्मेवार ढङ्गले प्रस्तुत हुन आग्रह गरेकी छन् । कुमार बेनले आफ्नो फेसबुक पेजमार्फत ‘राज्यले नो पार्किङ क्षेत्र भनेको ठाउँमा पार्किङ गरिएको गाडी उठाउँदा वा जरिवाना गर्दा ज्यादती भयो भन्ने मिडियाले पाँच–छ घण्टामै विज्ञप्ति निकाल्नुपर्ने रहेछ’ भन्ने आशयको स्ट्याटस सार्वजनिक गरेका थिए । उक्त पोस्ट सेयर गर्दै रक्षा बमले मिडिया हाउसअगाडि गाडी पार्क गरिनुको उद्देश्य अव्यवस्थित पार्किङले निम्त्याउने समस्या देखाउनु रहेको तर्क गरिएको उल्लेख गर्दै त्यसलाई शक्ति प्रदर्शनका रूपमा व्याख्या गरेकी छन् । उनले गत निर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीबारे आलोचना भइरहेका समयमा कुमार बेनले विरोध गर्नेलाई बागमतीमा चोबल्ने र पोस्टमा लाइक वा कमेन्ट गर्नेलाई समेत थुन्ने अभिव्यक्ति दिएको प्रसङ्ग स्मरण गर्दै त्यस बेला आफूले त्यसलाई मजाक नभई फरक मतप्रतिको असहिष्णु मानसिकताको सङ्केतका रूपमा बुझेको उल्लेख गरेकी छन् । रक्षा बमले फरक मतलाई अपराध ठान्ने, आलोचनालाई शत्रुता सम्झिने र असहमतिलाई धम्कीमार्फत दबाउन खोज्ने प्रवृत्ति अहिले राज्यसत्ताको वरिपरि देखिएको आरोप लगाएकी छन् । उनले कुमार बेनलाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको हैसियतअनुसार पदको गरिमा कायम राख्न आग्रह गर्दै नागरिकलाई धम्क्याउने वा सञ्चारमाध्यममाथि शक्ति प्रदर्शन गर्ने अधिकार कसैलाई नभएको उल्लेख गरेकी छन् । पार्किङ व्यवस्थापन सरकारको दायित्व भएको भन्दै त्यसको समाधान नीति र व्यवस्थापनबाट खोजिनुपर्ने, मिडिया हाउसअगाडि गाडी तेर्स्याएर प्रदर्शन गर्नु उपयुक्त नभएको उनको भनाइ छ । रक्षा बमले गणेश नेपाली प्रकरणसमेत उल्लेख गर्दै नगर प्रहरीले नागरिकसँग गरेको व्यवहार कुनै पनि हिसाबले उचित नरहेको दाबी गरेकी छन् । उनका अनुसार विरोध पार्किङ व्यवस्थापनको होइन, त्यस क्रममा अपनाइएको व्यवहार र शैलीको हो । उनले राज्य सञ्चालनमा शक्ति प्रदर्शनभन्दा नागरिकप्रति संवेदनशीलता र करुणा आवश्यक हुने उल्लेख गर्दै फिल्मको स्क्रिप्ट लेख्नु र राज्य सञ्चालन गर्नु फरक विषय भएको टिप्पणी गरेकी छन् ।
