संचारगृहको गेटमा गाडी तेर्साइनु वाक स्वतन्त्रतामाथिको धावा : प्रमिला गच्छदार
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले संचारगृहको गेटमा गाडी तेर्साइनु वाक स्वतन्त्रतामाथिको धावा भएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘संचारगृहहरूको गेटमा र नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेटमा शंकास्पद रूपमा गार्डीहरू तेर्साएर नागरिक क्षेत्रलाई तर्साउने जुन योजनाबद्ध खेल भयो यो नागरिक क्षेत्रको प्रत्यक्ष आक्रमण हो । यो वाक स्वतन्त्रतामाथिको धावा हो ।’ अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो । एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका थिए । कसले यस्तो गर्यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन । मिडियाहरूको आवतजावतमा अवरोध गर्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाबारे संसद्मा प्रश्न उठेको हो । यसलाई कांग्रेस सांसद गछदारले नागरिक स्वतन्त्रतामाथिको दमनकारी नीति भनेकी छन् ।
