SHARE
Samata Press · मङगलबार ३० असार २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी निर्देशिका बनाइने

काठमाडौँ । प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले आज सोमबारदेखि कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्नुअघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ लिएका हुन् । शपथग्रहणपश्चात् उनले काउन्सिलमा पदबहाली गरे । अध्यक्ष श्रेष्ठले अहिलेको एआई र सोसल मिडियाको परिवर्तित अवस्थामा प्रेस काउन्सिल नेपालको भूमिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । साथै, प्रेस स्वतन्त्रताको रक्षा गर्नु पनि काउन्सिलको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उनले कुनै पनि दबाबबाट मुक्त भई स्वच्छ भएर पत्रकारिता क्षेत्र र सरकारबिचको पुलको रूपमा काम गर्न प्रयत्नरत रहने बताए । अध्यक्ष श्रेष्ठले कर्मचारीका समस्याहरूलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे । अध्यक्ष श्रेष्ठलाई काउन्सिल सदस्य निर्मला शर्मा, सदस्यसचिव छबीन्द्र पराजुली, मुख्य अधिकृत झबिन्द्र भुसाल, वितरण सम्परीक्षण समितिका सदस्य सन्तोष खड्का, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा, पत्रकारद्वय उज्ज्वल आचार्य र जन्मदेव जैसी, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहित सम्पूर्ण कर्मचारीले स्वागत गरेका थिए । नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’का सम्पादक रहनुभएका श्रेष्ठलाई सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा यही असार २४ गतेको मन्त्रिपरिषद् बैठकले काउन्सिल अध्यक्ष मनोनयन गर्ने निर्णय गरेको थियो । सञ्चार क्षेत्रमा ‘सालोक्य’ उपनामले समेत परिचित उनीसँग छापा, टेलिभिजन, अनलाइन र डिजिटल पत्रकारितामा दुई दशक बढीको कार्यअनुभव रहेको छ ।