फिल्म सेटमा आफुमाथी भएको बिभेदबारे कलाकार काजल कर्णले दीईन एफएएनमा प्रमाणसहित उजुरी
काठमाडौँ । अभिनेत्री काजल कर्णले फिल्म ‘चिरञ्जीवी भवः’ को सेटमा आफूले जातीय तथा आत्मसम्मानमाथि चोट पुग्ने व्यवहार भोगेको दाबी दोहोर्याउँदै यस विषयमा औपचारिक रूपमा फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल (एफएएन) मा उजुरी दर्ता गरिसकेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दिनमा आफ्नो नाम विभिन्न मिडिया र सामाजिक सञ्जालमा आइरहेको उल्लेख गर्दै अब चुप लागेर बस्न नसक्ने अवस्था आएको बताएकी हुन् । उनले यो विवाद केवल एउटा फिल्मको सेटमा भएको घटना मात्र नभई आफ्नो अस्तित्व, पहिचान र आत्मसम्मानसँग जोडिएको विषय भएको उल्लेख गरेकी छन्। केही मिडिया र अनलाइन पोर्टलहरूले सत्य नबुझी हल्ला र आकर्षक शीर्षकको पछि लागेर विषयलाई गिजोलिरहेको आरोप पनि उनले लगाएकी छन् । काजलले एफएएनमा इमेलमार्फत औपचारिक उजुरी बुझाइसकेको र त्यससँग सम्बन्धित सम्पूर्ण प्रमाणसमेत पेश गरिसकेको जानकारी दिँदै समय आएपछि प्रमाणसहित सार्वजनिक रूपमा बोल्ने बताएकी छन् । उनले लेखेकी छन्, 'म एक्लै लडिरहेकी छैन, मेरो आमा-बुवाको विश्वास, मेरो आफ्नै मेहनत र सत्यको बल मसँग छ । न्याय पाउने अधिकार सबैको हो र म त्यो अधिकारका लागि अन्तिमसम्म लड्नेछु ।' साथै उनले प्रमाण र तथ्य नबुझी कसैलाई दोषी नठान्न आग्रह गर्दै यो लडाइँ जातीयतामाथिको, आत्मसम्मानमाथिको र सत्यको पक्षमा रहेको बताएकी छन् । यसअघि काजल कर्णले ‘चिरञ्जीवी भवः’ को सेटमा आफूलाई मधेशी भएकै कारण अपमानित गरिएको, हेपिएको र अनुचित व्यवहार गरिएको आरोप सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको थियो । अहिले उक्त विषयमा कलाकार, अभियन्ता र विभिन्न व्यक्तिले समर्थन तथा प्रतिक्रिया जनाइरहेका छन् ।
