सिता बादीको पदबहालीपछि बाल उद्धारमा सक्रियता, २ हजार ४६ बालबालिका सकुशल फेला
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) ले पछिल्लो करिब तीन महिनामा हराएका तथा जोखिममा परेका बालबालिकाको खोजतलास, उद्धार र पारिवारिक पुनर्मिलनमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । मन्त्री सिता बादीको पदबहालीपछि गत चैत १३ गतेदेखि यहि असार १० गतेसम्म सञ्चालन गरिएका कार्यक्रमअन्तर्गत हराएका २ हजार ४४० बालबालिकामध्ये २ हजार ४६ जना (करिब ८४ प्रतिशत) सकुशल फेला परेका छन् । बाँकी ३९४ जना बालबालिकाको खोजतलास नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा जारी रहेको मन्त्रालयले जनाएको छ । यस अवधिमा बेवारिसे अवस्थामा फेला परेका १०३ जना बालबालिकाको उद्धार गरी संरक्षणमा राखिएको छ। तीमध्ये ६० जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ४३ जना हाल संस्थागत संरक्षणमा रहेका छन् । त्यसैगरी सडकमा आश्रित ६६ जना बालबालिकाको उद्धार गरिएकोमा २१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ४५ जना सुरक्षित संस्थागत संरक्षणमा रहेका छन् । मन्त्रालयका अनुसार समीक्षा अवधिमा बेवारिसे तथा सडकमा आश्रित गरी कुल १६९ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ८१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८८ जना अझै संस्थागत संरक्षणमा छन् । मन्त्रालयले नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको समन्वयमा जोखिममा रहेका बालबालिकाको शीघ्र खोजतलास, उद्धार, संरक्षण तथा पुनर्मिलनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बाल संरक्षण प्रणालीलाई थप सुदृढ, प्रभावकारी र उत्तरदायी बनाउने कार्यलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ। साथै, आगामी दिनमा पनि हराएका, जोखिममा परेका तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको खोजतलास, उद्धार, संरक्षण र पुनर्स्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानजनक र पारिवारिक वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँगको सहकार्यलाई थप सुदृढ बनाइने प्रतिबद्धता मन्त्रालयले व्यक्त गरेको छ ।
