'दहाड' : विभेद र उत्पीडनविरुद्धको गर्जन
सारंगी बनाउने र बजाउने पुस्तैनी पेशा हो गर्जे गायनको । उनको श्रम, सपना र सम्मानको आधार त्यही हो । उनको वर्तमान र भविष्य सारंगीमै गुञ्जिन्थ्यो । सारंगी गुञ्जाउँदै चार गाउँ घुम्थ्यो ऊ । रातभरि सारंगी रेट्दा रेट्दै सयौँ युवतीहरू गर्जेको धुनमा लठ्ठिन आइपुग्थे । सिमलचौरमा एक रात नहुनु भो– गर्जेको सारंगीमा लठ्ठिन आइपुगेकी एउटी गुरुङसेनीसँग गर्जेले कुन बेला मन साँट्यो, पत्तै पाएन । उसको चेत त त्यसबेला खुल्यो– जुन बेला अजातसँग साँठगाँठ गरेको भनेर गुरुङसेनीका गाउँलेले सात गाउँ कटाइदिन्छन् । कथाकार नवीन अभिलाषीले आफ्नो कथा संग्रह दहाडमा समेटेको कथा ‘ताना’मा सारंगी गाउँदा गाउँदै गुरुङसेनीसँग माया लाउन पुगेको गर्जे गायनले कथित ठूलो जातकी युवतीसँग विवाह गरेको नाउँमा पाएको दुःख र उसको संघर्षलाई चित्रित गरेका छन् । उसो त नेपाली समाजलाई अहिले पनि अन्तरजातीय विवाह स्वीकार्य छैन । सजातीय विवाहलाई यतिसम्म बाध्यकारी बनाइएको छ कि कसैले अन्तरजातीय विवाहको प्रयत्न गरिहाल्यो भने अस्वीकार, बहिष्करण र अपहेलना खेप्नुपर्छ । अझ त्यो दलित र गैरदलितबीचको अन्तरविवाह छ भने त ज्यानै गुमाउनेसम्मको जोखिम झेल्नुपर्छ । पञ्चायतकालीन समाजको कथा ‘ताना’मा अभिलाषीले एउटा गाइनेले गुरुङसेनी भगाएपछि भोगेको सामाजिक बहिष्करण, अपमान, अन्याय र अत्याचारलाई बुनेका छन् । सजातीय विवाह गर्नुपर्ने नियम तोडेको गर्जेले आफूमाथिको अन्यायविरुद्ध मात्रै बोल्दैन, उसले समाजका धर्ममा आधारित नियम, सामाजिक मान्यता र गन्धर्व समुदायमाथिको ऐतिहासिक उत्पीडनको दहाड छेड्छ । धर्म र शास्त्रका कयौँ नियम, मान्यता र परम्पराले कसरी कथित उच्च जातले साना जातिहरूमाथि छुवाछुत, विभेद, हिंसा र अत्याचार गरिरहेका छन् भन्ने चित्रण गर्छ । गर्जे विद्रोही छ । उसको विद्रोहको गर्जन यसरी गर्जिएको छ कि त्यसले सबै समुदायको आ–आफ्नो आत्मसम्मान छ र शास्त्रले सबैलाई समान अधिकार दिएको छ भनेर ब्राह्मणवादी चिन्तनलाई चुनौती दिएको छ । जब गर्जेको छोरो जन्मिन्छ, पण्डितले उसको नामाकरण गर्न अस्वीकार गर्छन् । पण्डितलाई गर्जेले भन्छ,‘मान्छेको एउटा बच्चोलाई नाम दिदैँमा क्यार्न मासिन्थ्यो तपाईको शास्त्र ।’ यहाँ शास्त्र, विधि, ईश्वर भनेको पण्डितहरुको मात्र हो, ब्राहम्णहरुको मात्र हो । सारङ्गी बनाउने र बजाउनेहरुले विधि र शास्त्रको कुरा गर्नु हुन्न भन्नेहरुलाई गर्जेले मिठो जवाफ दिएको छ । उसले भनेको छ–यस्तो विधि नै मारेर हामी अदनामाथि के को अर्घेल्याई गर्नुहुन्छ पण्डित । हाम्रो जिउमा पनि अन्नै जाने हो । (पृष्ठ नं १८४)’ गर्जेले धर्मको नाममा राजनीति गर्ने र धर्मको नाममा जात ब्यवस्थालाई अझ बलियो बनाउन खोज्नेहरुलाई गतिलो जवाफ दिएको छ । जात व्यवस्थाविरुद्ध गर्जेको गर्जन उच्च कोटीको सुनिन्छ । ‘दहाड’मा यस्तै बाह्र वटा कथाहरू संग्रहित गरेका छन् नवीन अभिलाषीले । यो उनको पहिलो कथा कृति अवश्य हो । तर उनले चुनेका घटना, पात्र र कथावस्तुले उनको उपस्थितिलाई गहकिलो बनाइदिएका छन् । गणतन्त्र आएपछि जन्मिएको पुस्ताले आज राज्यको मूल प्रवाहमा हस्तक्षेप गरिरहेका बेला जातमा आधारित समाजको आधारभूत चरित्र र त्यसले सिर्जना गरेको असमानता, विभेद र खाडललाई बुझाउन, झकझक्याउन र कतिपयलाई स्मरण गराउन अभिलाषीको ‘दहाड’ अर्थपूर्ण छ । यसले नेपालको मध्यपश्चिमी तराई–पहाड भुभागका दलित, थारु, मगर समुदायले पञ्चायती ब्यवस्थामा भोगेको चरम जातीय विभेद, लैंगिक हिंसा र वर्गीय असमानतायुक्त अवस्थाको झल्को दिलाउँछ । उनीहरूको दर्द, पीडा र संघर्षको चित्कार ‘दहाड’ बनेको छ । भुँइमान्छेहरूको मौन गर्जन हो दहाड । यो उनीहरूको दुख हो, व्यथा हो, पीडा हो । कथाकारले जात व्यवस्था, पितृसत्ता र वर्गबीचको अन्तरसम्बन्ध, त्यसको सामाजिक–आर्थिक र राजनीतिक संस्कारहरुलाई बडो स्वादका साथ पस्केका छन् । किताब भित्रका १२ वटा कथाहरु जसमा पात्र, समय र परिस्थिति फरक भएता पनि जात व्यवस्था, पितृसत्ता र वर्गीय असमानताहरुको मुद्दा, पीडा र विभेदलाई विविध ढंगले दर्शाउन खोजिएको छ । दहाड, चौरासी, किनार, दमाह यसभित्रका शक्तिशाली कथाहरू हुन् । कथाका शब्द, भाषामा खोट लगाउने ठाँउ भेटिदैन । कथाकारले मध्यपश्चिमको समाज, संस्कृति र भाषालाई टपक्कै टिपेर शब्दमा उतारेका छन्, कथामा बुँनेका छन् । हामीमध्ये कति कथा मनोरञ्जनका लागि मात्रै पढ्ने पनि हुन सक्छौँ । तर दहाड केवल मनोरञ्जनका लागि मात्रै होइन, यसले व्यक्तिको आलोचनात्मक चेत, सामाजिक परिवर्तनको चेत र अन्यायविरुद्धको चेतलाई जागरुक बनाउँछ । विभेदको जग र संस्कारलाई बुझाउँछ । र, अब विभेदको अन्त्य गर्न आवश्यक विद्रोहको चेत जगाउँछ ।
