SHARE
Samata Press · बुधबार ३१ असार २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

खगेन्द्र सुनारलाई दलजित श्रीपालीको सुझाव: ‘दलित समुदायलाई भ्रममा पार्ने काम नगर्नुहोस्’

काठमाडौं । पूर्वमन्त्री तथा नेपाल दलित मोर्चाका संयोजक दलजित श्रीपालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् । उनले सांसद सुनारलाई तथ्य र सत्यका आधारमा बोल्न आग्रह गर्दै निरन्तर झुटो अभिव्यक्ति नदिन चेतावनी दिएका हुन् । फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा श्रीपालीले सांसद सुनारले जनयुद्ध, दलित आन्दोलन र विभिन्न चर्चित घटनामा आफ्नो भूमिकाबारे गलत दाबी गर्दै आएको आरोप लगाएका छन् । श्रीपालीले सुनारको जनयुद्धमा कुनै योगदान नरहेको दाबी गर्दै दैलेखका नागरिकसँग बुझ्न आग्रह गरेका छन् । त्यस्तै, रुकुम-जाजरकोटको सोती हत्याकाण्डमा मारिएका नवराज विकसहित ६ युवाको न्यायका पक्षमा सुनारको भूमिका पत्रकारितासम्म सीमित रहेको र निर्णायक भूमिका नरहेको दाबी गरेका छन् । काभ्रेका अजित मिजार र लक्ष्मी परियारको न्यायका लागि भएको आन्दोलनमा पनि सुनारको कुनै निर्णायक भूमिका नरहेको उल्लेख गर्दै उनले ती घटनामा पीडित परिवारलाई भ्रममा पारेर सस्तो लोकप्रियता कमाएको आरोप लगाएका छन् । श्रीपालीले सुनारले सिन्धुलीको खुर्कोट प्रहरी चौकीमा मृत फेला परेका श्रीकृष्ण विकको घटनामा समेत पीडित परिवारमाथि अन्याय गरेको आरोप लगाएका छन् । यस विषयमा सम्बन्धित परिवार, कानुन व्यवसायी तथा आन्दोलनरत पक्षसँग बुझ्न उनले आग्रह गरेका छन् । संसदमा आफूलाई सडक र सदन दुवैतर्फबाट खोजिएको भन्ने सांसद सुनारको अभिव्यक्तिप्रति पनि श्रीपालीले आपत्ति जनाएका छन् । उनले सडकमा सुनारलाई खोजिएको नभई दलित समुदायमाथि दमन हुँदा मौन बसेको भन्दै आलोचना गरिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक स्टाटसको अन्त्यमा श्रीपालीले सांसद जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले संसदभित्र तथ्यहीन र जथाभावी अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै सार्वजनिक अभिव्यक्तिमा जिम्मेवारी र सत्यनिष्ठा आवश्यक रहेको बताएका छन् ।