SHARE
Samata Press · बुधबार ३१ असार २०८३ ०८:१३ PM · 1 मिनेट पढाइ

किताबखाना-लोकसेवा आयोगबीच सम्झौता, अब कर्मचारीको व्यक्तिगत विवरण स्वतः भर्ने व्यवस्था

काठमाडौं । राष्ट्रिय किताबखाना र लोकसेवा आयोगले सरकारी निकायमा पहिले नै उपलब्ध नागरिकका व्यक्तिगत विवरण पुनः भर्नुपर्ने झन्झट अन्त्य गर्न प्रणालीबीच अन्तर–आवद्धता सुरु गरेका छन् । अब लोकसेवा आयोगको प्रणालीमा रहेका कर्मचारीका विवरण राष्ट्रिय किताबखानाको ई-सिटरोल प्रणालीमा स्वतः ‘अटो फिल’ हुने व्यवस्था गरिएको छ । यसका लागि दुवै निकायबीच लिखित समझदारीपत्रमा हस्ताक्षर भएसँगै  एपीआई मार्फत प्रणाली जोडिएको राष्ट्रिय किताबखानाले जनाएको छ । समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र लोकसेवा आयोगका सहसचिव पुरुषोत्तम शर्माले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोह लोकसेवा आयोगका सचिव रामेश्वर दंगालको उपस्थितिमा सम्पन्न भएको थियो । महानिर्देशक पोखरेलका अनुसार यो व्यवस्था सरकारले अघि सारेको ‘एउटा विवरण, एक पटक मात्र बुझाउने’ भन्ने शासकीय सुधार कार्यसूचीको सिद्धान्तअनुसार लागू गरिएको हो । यसले सरकारी निकायबीच सूचनाको सुरक्षित आदानप्रदानलाई सहज बनाउने विश्वास लिइएको छ । राष्ट्रिय किताबखानाले तीन महिनाअघि नै लोकसेवा आयोगको सिफारिसमा नियुक्त हुने कर्मचारीका लागि ई-सिटरोल रजिस्ट्रेशन सेवा सञ्चालनमा ल्याएको थियो ।  उक्त सेवामार्फत कर्मचारीले आफ्नै मोबाइल, ल्यापटप वा डेस्कटपबाट शिटरोल दर्ता, संकेत नम्बर प्राप्त तथा शिटरोल डाउनलोड गर्न सक्ने सुविधा पाउँदै आएका छन् । अब भने कर्मचारीले ई-सिटरोल प्रणालीमा लोकसेवा आयोगको ‘मास्टर आईडी’ प्रविष्ट गरेपछि नाम, थर, बाबु-आमाको नाम, वैवाहिक अवस्था, स्थायी तथा अस्थायी ठेगाना, शैक्षिक योग्यता, नागरिकता नम्बर, जारी मिति र जिल्ला लगायतका व्यक्तिगत विवरण स्वतः भरिनेछन् । यसअघि पटक-पटक एउटै विवरण प्रविष्ट गर्नुपर्ने बाध्यता हट्ने, सेवाग्राहीको समय र श्रम बचत हुने तथा विवरणको शुद्धता, एकरूपता र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ । साथै, यसले सरकारी डिजिटल सेवा अझ प्रयोगमैत्री बन्ने राष्ट्रिय किताबखानाले जनाएको छ ।