SHARE
Samata Press · बिहीबार ३२ असार २०८३ १२:४० PM · 1 मिनेट पढाइ

सिम्रन खड्का भन्छिन्- 'गौँथली'ले मेरो सोच बदल्यो, बालविवाह अझै यथार्थ रहेछ

काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ अहिले प्रचारप्रसारमा व्यस्त छ । चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का यतिबेला दैनिक विभिन्न स्थानमा पुगेर दर्शकमाझ चलचित्रको प्रचारमा जुटिरहेकी छन् ।  उनले ‘गौँथली’को कथा, आफूले निभाएको पात्र, चलचित्रले दिएको जीवनदृष्टि, अभिनय यात्रादेखि नेपाली समाजका विद्यमान समस्यासम्मका विषयमा खुलेर धारणा राखिन् । सिम्रनका अनुसार ‘गौँथली’ कुनै एक पात्रको कथा मात्र होइन, आफ्नो सपना पूरा गर्न अनेक बाधा पार गर्दै अघि बढ्ने हरेक महिलाको प्रतिनिधि कथा हो । उनले भनिन्, ‘सबैको जीवनमा केही बन्ने, केही गर्ने इच्छा हुन्छ । ‘गौँथली’ पनि त्यस्तै एउटा युवतीको कथा हो, जसको सबैभन्दा ठूलो सपना भनेको पढ्नु हो । जीवनमा अनेक उतारचढाव आएपनि आफ्नो लक्ष्यबाट नडगमगाउने पात्र हो ‘गौँथली’।’ २५ वर्षअघिको विरासत बोकेको चलचित्रमा मुख्य भूमिका २५ वर्षअघि बनेको चर्चित कथाको पुनःनिर्माण भएकाले ‘गौँथली’मा मुख्य भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण भए पनि आफूले त्यसलाई दबाबका रूपमा नभई जिम्मेवारीका रूपमा लिएको सिम्रन बताउँछिन् । ‘मैले कहिल्यै पनि ‘मुख्य भूमिका छ, गाह्रो हुन्छ’ भनेर सोचिनँ । मेरो ध्यान पात्रलाई न्याय गर्ने र त्यसलाई पूर्ण रूपमा महसुस गरेर अभिनय गर्नेमा मात्रै थियो । तर २५ वर्षअघि नै दर्शकको मन जितिसकेको कथाको विरासत बोकेको फिल्म भएकाले चुनौती त थियो । तर हाम्रो सम्पूर्ण टिम निकै सहयोगी भएकाले काम सहज भयो,’ उनले भनिन् । ‘गौँथली’ले बदलिदियो सोच चलचित्रमा गाउँकी युवतीको भूमिका निर्वाह गरेकी सिम्रनका लागि घाँस काट्ने, दाउरा बोक्ने वा गाउँको जीवन पूर्ण रूपमा अपरिचित भने थिएन । बाल्यकालमा बिदाको समयमा गाउँ जाँदा यस्ता काममा रमाउने अनुभव उनले पहिले नै बटुलेकी थिइन् । तर चलचित्रको कथा पढ्दा भने उनले बालविवाह र बुहारीमाथिको विभेद अहिले पनि यथार्थ हो भन्ने कुरा सहजै पत्याएकी थिइनन् ।