SHARE
Samata Press · बिहीबार ३२ असार २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

सांसदलाई स्वकीय सचिव सुविधा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ। अब संघीय सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूले स्वकीय सचिव राख्पाउने निर्णय गरेको हो ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मन्त्रिपरिषद्को मंगलबारको बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको जानकारी दिइन् । 'मन्त्रिपरिषद्को मंगलबारको बैठकले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो,' उनले भनिन् ।  यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो ।  जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो । संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको मन्त्री गौतमले जानकारी दिइन् ।    संघीय संसद् सचिवालयका प्रवक्ता एकरम गिरीले भने मन्त्रिपरिषद्को निर्णय सचिवालयसम्म आइनसकेको बताए । मन्त्रिपरिषद्को निर्णय संसद् सचिवालय आइपुगेपछि सांसदहरूले स्वकीय सचिव नियुक्तिको बाटो खुल्नेछ ।