SHARE
Samata Press · बिहीबार ३२ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

चलचित्र ‘लज्जावती’को ‘दिलको मोटर’ सार्वजनिक, रवि ओड र सहिमा श्रेष्ठको स्वर

काठमाडौँ । आगामी नेपाली चलचित्र ‘लज्जावती’ को गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। नयाँ बानेश्वरस्थित आइएनआई सिनेमा हलमा आयोजित कार्यक्रममा चलचित्र निर्माण टोली, कलाकार तथा सञ्चारकर्मीको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । गीतमा नेपाल आइडल विजेता रवि ओड र सहिमा श्रेष्ठको स्वर रहेको छ भने सङ्गीत संयोजन बाबुल गिरीले गरेका छन् । गीतको छायाङ्कन दिव्य राज सुवेदी, कलर ग्रेडिङ श्याम कुँवर तथा नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । कोरियोग्राफीमा रामजी लामिछाने र कृष्ण परियारको सहकार्य रहेको छ । चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य र प्रिया रिजाल लगायतका कलाकारको अभिनय रहेको छ । कार्यक्रममा निर्देशक राजबहादुर साने, निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोक्काको पनि उपस्थिति रहेको थियो । सङ्गीतकार बाबुल गिरीले चलचित्रमा आबद्ध हुने अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गर्दै आफूले सङ्गीतमा निकै मेहनत गरेको बताए । चलचित्र दर्शकको अपेक्षाभन्दा राम्रो बनेको उनको विश्वास छ । कोरियोग्राफर कविराज गहतराजले गीतलाई उत्कृष्ट बनाउन आफ्नो सम्पूर्ण टिमले निकै मेहनत गरेको उल्लेख गर्दै आफ्ना अघिल्ला सिर्जनाजस्तै यस गीतलाई पनि दर्शकले माया गरिदिन आग्रह गरे । कलाकार मुकुन भुसालले चलचित्रलाई माया, साथ र समर्थन गर्न आग्रह गर्दै गीत मन परे सामाजिक सञ्जालमा रिल्स र टिकटक बनाएर प्रचारमा साथ दिन दर्शकसँग अनुरोध गरे। अभिनेत्री जानुका विश्वकर्माले चलचित्रमा काम गर्ने अवसर पाएकोमा निर्माण टोलीप्रति धन्यवाद व्यक्त गर्दै साउन २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र हेरेर साथ र सहयोग गर्न आग्रह गरिन्। कलाकार श्रीकृष्ण निरौलाले चलचित्रमा काम गर्ने अवसरका लागि निर्माण पक्षलाई धन्यवाद दिँदै चलचित्रको सम्पूर्ण टिम उत्कृष्ट रहेको बताए । कलाकार मेनुका माझीले करिब आठ–नौ वर्षपछि चलचित्रमा काम गर्ने अवसर पाएको बताइन् । धेरै सङ्घर्ष र मेहनतपछि यो अवसर प्राप्त भएको उल्लेख गर्दै उनले निर्माण टोलीप्रति आभार व्यक्त गरिन् । कलाकार श्रीकृष्ण निरौलासँग काम गर्दा निकै सहज महसुस भएको बताउँदै उनले ‘लज्जावती’ दर्शकको मन जित्न सफल हुने विश्वास व्यक्त गरिन् । साथै सबैलाई आफ्नो ठाउँबाट चलचित्रलाई हौसला र साथ दिन आग्रह गरिन् । चलचित्र ‘लज्जावती’ का निर्देशक राजबहादुर सानेले चलचित्र निर्माणको यात्रा चुनौतीपूर्ण भए पनि सम्पूर्ण टिमको मेहनतले उत्कृष्ट चलचित्र तयार भएको बताएका छन् । गीत सार्वजनिक कार्यक्रममा उनले आफूले चलचित्रको सैद्धान्तिक अध्ययन भारतमा गरेको र ‘वृन्दावन’ चलचित्रदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेको बताए ।