SHARE
Samata Press · शुक्रबार​ १ साउन २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

‘चिरञ्जीवी भव:’विवाद: बाँकी भुक्तानी पाएपछि काजलले भनिन्, 'सम्बन्धित टिमले माफी नमागेसम्म विषय उठाइरहन्छु'

काठमाडौँ । कलाकार काजल कर्णले चलचित्र ‘चिरञ्जीवी भव:’ को डबिङसँग सम्बन्धित बाँकी तेस्रो किस्ताको भुक्तानी प्राप्त भएको जानकारी दिएकी छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गत जुलाई १४ गते दिउँसो १२:३२ बजे उक्त रकम प्राप्त गरेको उल्लेख गरेकी छन् । काजलले यसअघि आफूले चलचित्रसँग सम्बन्धित विवादबारे फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल (एफएएएन) तथा नेपाली चलचित्र महासङ्घ, कोसी प्रदेशमा आवश्यक पत्र र प्रमाण बुझाइसकेको बताएकी छन् । विवाद समाधानमा सहजीकरण गरेको भन्दै महासङ्घ, कोसी प्रदेशका महासचिव दिनेश कोइरालाप्रति आभार पनि व्यक्त गरेकी छन् । यद्यपि, उनले आर्थिक भुक्तानीभन्दा कलाकारको सम्मान र मर्यादा नै सबैभन्दा महत्त्वपूर्ण भएको उल्लेख गर्दै आफ्नो आत्मसम्मानमा पुगेको चोट पैसाले पूर्ति गर्न नसकिने बताएकी छन् । उनले चलचित्रको सम्बन्धित निर्माण टोलीले आफूसँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग दोहोर्‍याएकी छन् । फेसबुक स्ट्याटसमा काजलले लेखेकी छन्, 'पैसाभन्दा माथि, सम्मान र मर्यादा नै एउटा कलाकारको सबैभन्दा ठुलो गहना हो। आफ्नै परिश्रमको हकका लागि जबरजस्ती गर्नुपर्दा, जातीय विभेदको महसुस गराइँदा र केही शब्दले मनमस्तिष्कमा गहिरो चोट पुर्‍याउँदा त्यो अपमान पैसाले कहिल्यै मेटिँदैन । त्यसैले सम्बन्धित टिमबाट सार्वजनिक माफीको माग गर्दछु ।' उनले सार्वजनिक माफी प्राप्त भएमा यस विषयलाई यहीँ टुङ्ग्याउने सङ्केत गर्दै आत्मसम्मानमा लागेको चोट नमेटिएसम्म यो विषय अघि बढ्ने पनि स्पष्ट पारेकी छन् ।