त्रिपालमुनि निसास्सिएको नागरिकको सास
त्रिपालको ओत विपद्को अल्पकालीन मलममात्र हो, दीर्घकालीन छहारी होइन । तर, गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री—३, देवल गाउँका ८३ घरपरिवारका लागि यही त्रिपाल पनि पाँच वर्षदेखि निरन्तरको नियति बनेको छ । गाउँमा खसेको पहिरोले घर र गोठमात्रै भत्काएन, उनीहरूको उब्जनी गर्ने पाखोबारी र बाँच्ने आधारसमेत बगायो । विपद्मा परेका नागरिकलाई तत्काल राहतस्वरूप त्रिपाल थमाए पनि, स्थायी र सुरक्षित आवासको प्रबन्ध गर्नु राज्यको प्राथमिक दायित्व हो ।
