आमाको मृत्युपछि ४ बहिनी सम्हाल्दै १४ वर्षीया नमुना
मुगु : बिहानको उज्यालो अझै राम्ररी फैलिएको हुँदैन। गाउँका धेरै घरमा चुल्हो बल्न बाँकी नै हुन्छ। तर, मुगुको सोरु गाउँपालिका–१ की १४ वर्षीया नमुना दमाई भने उठिसकेकी हुन्छिन्।उनी आफ्ना ४ बहिनी र बुबालाई उठाउँछिन्। घरभित्र कुचो लगाउने, ढोका लिपपोत गर्ने, चुल्होमा आगो बाल्ने र खाना पकाउने काममा जुट्छिन्। घरभित्र उनको दौडधुप देख्दा जोकसैले उनलाई घरकी अभिभावक ठान्न सक्छ। तर वास्तविकता फरक छ— नमुना आफैँ अझै बालिका हुन् र उनी कक्षा १० मा अध्ययनरत छिन्।
